Barsa kabita
- मन्दाक्रान्ता छन्दको आठ श्लोकमा लेखिएको,
- प्रकृति र मानवजीवनको सम्बन्धलाई दर्साइएको,
- खास गरी वर्षाकालीन परिवेशको जीवन्त चित्रण गरिएको,
- अनेकौँ बिम्ब र प्रतीकहरूले सुशोभित,
- प्रायः अन्त्यानु-प्रासयुक्त कविता
- तत्सम शब्दहरूको बहुलता र केही स्वनिर्मित शब्दहरूको समेत प्रयोग
- कवितावाचनको श्रव्यदृश्य सामग्री ।
भावार्थ/सार (प्रत्येक श्लोकको भावार्थ)
अ. हावामा उड्ने वायुपङ्खी विमान चढेर वर्षा हरर गर्दै आइन् । उनको आगमनका क्रममा अग्ला पहाडका चुचुराहरूमा विमानका पाङ्ग्राहरू घोटिएर आकाश गड्याङगुडुङ गर्दै थर्किन थाल्यो । त्यसै बेला आगाको जस्तो चमकदार बिजुलीका झिल्काहरू चम्किँदा पहाडहरू डरले गाडानीलो रङमा परिर्वतन भए । वास्तवमा वर्षाकालीन यो प्राकृतिक परिवेश टाढाटाढासम्मका पहाडका चुलीहरू नाघ्न सक्ने चञ्चल कलिलो अवस्थामा जस्तै परिवर्तन भएको देखियो ।
आ. वर्षाका समयमा तलतल लत्रिएका बादलहरू वास्तवमा बादल मात्र नभई तिनीहरू वर्षाले ओडेका हलुका फरपराउँदा पछ्यौरा वा मजेत्रा जस्तै देखिए । यस बेला लाखौँ मोतीका दानाहरू मिसिएको पोतेजस्तै चारैतिर चम्किलो दृश्य देखियो । त्यसैगरी बहुमूल्य सम्पत्तिहरू थुपार्न प्रयोग गरिएको पटुकाको फेरोका साथ स्नेहले मुस्कुराए झैँ लाग्न थाल्यो । साथै उनले पहिरिएको मोती मिसिएको माला चुँडिए झैँ पहाडमा बिजुलीका झिल्काहरू झर्झराएका देखिन थाले ।
इ. कविका विचारमा वर्षाकालीन समयमा चराहरू आकाश गर्जिँदा डरले गुँड सम्झेर भुरभुर गर्दै उड्न खोज्लान् । त्यस बेला नतर्सिकन चराका बच्चाहरू गुँडतिर जाऊन् । कमिलाहरूले हतारहतार गरुन् र लामो समयदेखि आकाशमा चक्कर लगाइरहेको चिल पनि अबेर होला भनी गुँडतिरै ओर्लियोस् ।
ई. कविका विचारमा अटुट रूपमा पानी बर्सिँदा खहरे खोला पनि जलमग्न हुन्छ । पृथ्वीमा त्याग्नै नसकिने अमृत लहर फस्टाउन थाल्छ । यो दृश्य वास्तवमै पृथ्वीका लागि आनन्द दिने किसिमको देखिन्छ ।
उ. वर्षायाममा पृथ्वी फल्लिन् । पानीले गर्दा कलिलो बनेकी पृथ्वी धानले छापिएलिन् । चञ्चल उमेर भएका युवतीहरू बिजुलीजस्ता चञ्चल आँखाबाट गीत गाउँदै रोपाइँ गर्लान् । बाली राम्रो होला । घाँसपातहरूमा हरियाली रहला । वर्ष राम्रो होस् भन्ने चाहनाका साथ शक्तिशाली हृदय भएका समुद्ररूपी युवकहरूको मुखबाट सङ्गीतको प्रेमपूर्ण खेल प्रकट होला ।
ऊ. वर्षाकै कारण वृक्षहरूमा रहेका लाखौँलाख फलहरू मिठा–मिठा अमृतरसले भरिएका हुन्छन् । मानौँ, वृक्षले ती फललाई चाख भनी आह्वान गरिरहेका छन् । त्यस्तै शरद् ऋतु लागिसकेपछि ती वृक्षका हाँगाहरू फलदान गर्नकै लागि लच्किन थाल्दछन् र ‘ए भाइहरू हो ! मिठा फलहरू निल’ भन्दै आफ्नोे इच्छा प्रकट गरिरहेझैँ देखिन्छन् ।
ए. वर्षा लागेकाले वनवनमा अन्न वा फलफूलहरूले गाउने गर । सारा वृक्षहरू उठ । स्वर्गका घैँटामा अमृतरूपी धाराहरू घटघट गरी बर्सिन थाले । त्यसैगरी असीमित वर्षाका कणहरू पनि दरदर गर्दै दर्किन थाले । त्यसैबेला पृथ्वीले पनि स्वर्गबाट बर्सिएको अमृत धारालाई पिउन थालिन् । रूखका चञ्चल हाँगाहरू उफ्रिन र नाच्न थाले । साथै रूखका जराहरूमा अमृत धारा फैलिन थाल्यो ।
ऐ. वर्षाको समय पृथ्वीका लागि रसमिलनको समय मानिन्छ । यसलाई उत्सवमय चाडवर्पका रूपमा लिने गरिन्छ । यसबेला आकाशबाट सङ्गीतमय वर्षा हुने गर्छ । यो मानिसहरूका लागि कल्पनामय रमाइलो बाढीजस्तै हुने गर्दछ । यसै बेला मानिसहरूले सुखको समुद्रमा पौडी खेले झैँ अनुभव गर्दछन् । जताततै असारे रातो फूलले रमाइलो वातावरण सिर्जना गर्दछ । अनेक रङ भएको मुजुर आफ्नो सुन्दर पुच्छरलाई माथि उठाउँदै फैलाएर नाच्न थाल्द । मानौँ मुजुरको जस्तै रमाएको मनले सुन्दर झन्डालाई सम्झिरहेको लाग्दछ ।
सन्देश
- कृषिप्रधान मुलुकका लागि वर्षाकालीन समय विभिन्न दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको बताउनु,
- वर्षाकालमा मेघको गर्जन नजिकिएका अनेकौँ समूहका बादलको दृश्य, बिजुलीको चमक, आकाश, पहाड र वनस्पतिहरूमा देखापर्ने प्रभावले मानिसलाई आकर्षित गर्ने गरेको पाउनु,
- किसानहरूका लागि अन्न रोप्ने उपयुक्त वातावरण भएकाले खुसियालीसाथ अन्नको रोपाइँ गर्नु,
- वर्षाकै कारण किसानका लागि अन्न, वृक्षहरूमा फलफूल, कमिला, चिल र मुजुरहरूमा नयाँ तरङ्ग र मानव जातिकै लागि चाडपर्वको झैँ परिवेश सिर्जना हुनु,
- मानिस र प्रकृतिको अभिन्न सम्बन्ध रहेको, प्रकृतिको अनुकूलताले मानिसले सक्रिय र सुखी जीवन बाँच्न सक्ने, प्राकृतिक सौन्दर्यसँगै मानिस रमाउने गरेको वर्षाकालीन प्राकृतिक परिवेश मानिसका लागि जीवन दिन सक्ने अन्न उत्पादनयोग्य समय भएको, वर्षाबाट पृथ्वी, आकाश, मानिस, पशुपन्छी, वनस्पति र सारा चराचर जगत् लाभान्वित हुने गरेको बताउनु ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates